मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले रजिस्ट्रार र डिन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताएका छन् । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्राडा. सिंहले योग्य, क्षमतावान् र दूरदृष्टिसहित काम गर्न सक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने जनाए ।
विश्वविद्यालयको विकास एवं हितमा सहयोग पु¥याउने हेतुले दुवै पदका लागि दर्खास्त आह्वान गरिएको उनले जानकारी दिए । ‘यसरी रजिस्टार र डिन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयमा पहिलो घटना हो,’ उनले भने, ‘जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ ।’
विश्वविद्यालयले आफ्नो वेबसाइटमा आवश्यक मापदण्डसहित रजिस्ट्रार र डिनको दर्खास्त आह्वानको सूचना जारी गरेको छ । उनले यसअघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताए ।
उनका अनुसार मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम जोड दिइने बताए । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डिनको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ ।