पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकलाई उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा बर्खामै फोहर बढी उत्पादन हुने र समय समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ ।
हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिन्छ ।
कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षाको समयमा समस्या हुने गरेको थियो । अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ । विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । जुन स्थान दुई वर्षका लागि लिएको थियो ।
सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करिब ३ अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहर उठाउने कार्य सुरु गर्ने भने पनि कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । विभिन्न कारणले काम अघि नबढेपछि प्रत्येक वर्ष बर्खाको समयमा फोहर व्यवस्थापन समस्याको विषय बन्दै आएको छ ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो होइन । उपत्यकाका १८ स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गरिन्छ ।