शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोसी गाउँपालिकाको लार्चामा बेपत्ता भएका ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिए । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा दुई सामान्य घाइते भएका थिए । सिन्धुपाल्चोकमा बेपत्ताको संख्या २१ पुगेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ । आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिए ।
जुरे सडक खोल्ने प्रयास
लगातारको वर्षाले बुधबार राति आएको सुनकोसी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । बाढीले सम्पूर्ण भाग कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इन्जिनियर विजयकुमार महतोले जानकारी दिए ।
सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोसीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोसी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डिई महतोले बताए ।