नेपाल धितोपत्र बोर्डका अनुसार ११ कम्पनीका ५ अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने तयारी गरिएको छ । कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित भइरहेका बेला प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेका दुई कम्पनीका सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण सेयर बिक्री गर्न लागेका हुन् ।
१० जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै, चार बिमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक÷एक कम्पनी रहेका छन् ।
चार बिमा कम्पनीका आइपिओ आउँदै
बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले ३ करोड बराबरको ३० लाख कित्ता सेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । जनरलको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ ।
सानिमा जनरल इन्स्योरेन्सले पनि ३० करोड बराबरको ३ लाख कित्ता साधारण सेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता सेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ ।
यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण सेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको सेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ ।
बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि २५ करोड बराबरको २५ लाख कित्ता सेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै, रुरु जलविद्युत् परियोजनाले ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण सेयर बिक्रीका लागि आवेदन माग गरेको छ ।
शुभम् पावर लिमिटेडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५८० साधारण सेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोसी जलविद्युत् कम्पनीले १ खर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ ।
त्यसैगरी, मैलुङ खोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति मागेको छ ।
यस्तै, सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड बराबरको ३ लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण सेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् ।
चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले ५ करोड बराबरको ५ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति मागेको छ ।
बोर्डले चालू आवमा कुल नौ कम्पनीका ३ अर्ब ९९ करोड ४८ लाख ४ हजार बराबरको ३ करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एन्डी आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एसिया लुघवित्त वित्तीय संस्थाले साधारण सेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार सुरु गरेको छ ।
सो कम्पनीले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँटफाँट गरेको थियो । यस्तै, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण सेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण सेयर बाँटफाँट हुन बाँकी छ ।
यस्तै, अजोड इन्स्योरेन्स लिमिटेडको साधारण सेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको ३० करोड बराबरको ३० लाख कित्ता सेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता सेयर बिक्रीको अनुमति दिएको छ ।