बाँकेको खजुरा गाउँपालिकाले अनुगमन भत्ता कृषिमा लगानी गर्ने भएको छ । गाउँपालिकाको सातौं गाउँसभामा वडा–२ का अध्यक्ष देवीलाल खनालले अनुगमन भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको हो ।
अब ५ लाखसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ । यहाँका वडा नं २ र ३ मा व्यावसायिक रूपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा–२ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताए ।
गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ ।
गाउँपालिका अध्यक्ष कक्षपतिले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट संशोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको ७६ करोड ३६ लाख ७३ हजार ४८७ बजेट सभाले पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष कक्षपतिले गाउँपालिकामा निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको उनको भनाइ थियो । ‘कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौं योजना पूरा हुन पाएका छैनन्,’ अध्यक्ष कक्षपतिले भने ।