स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षक परिवर्तन गर्ने तयारी गरिएको छ । बार्सिलोनाको खेल यस सिजनमा सन्तोषजनक नभएको र उपाधि जित्ने सम्भावना न्यून रहेकाले प्रशिक्षक परिवर्तन गर्ने तयारी गरिएको हो ।
स्पेनिस क्लब बार्सिलोना का प्रमुख जोसेफ मारिया बार्तेमोउले आफ्ना पूर्वखेलाडी जाभी हर्नानडेज छिट्टै नै बार्सिलोनाको प्रशिक्षक बन्ने बताएका छन् ।बार्तेमोउले यस सिजनको अन्त्यमा उनलाई बार्सिलोनामा प्रशिक्षकका रुपमा भित्र्याउने तयारी गरिएकाे बताएका हुन् । बार्सिलोनाले जाभीलाई नयाँ सिजन सुरु हुनुभन्दा पहिले नै जिम्मेवारी दिने अनुमान गरिएको छ ।
हाल बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनको छन् । सिजन स्पेनिस लिग लालिगामा बार्सिलोना लिगको दोस्रो स्थानमा छ ।
जाभीले जीवनको महत्त्वपूर्ण समय बार्सिलोनामा बिताएकाले उनलाई क्लबको जिम्मेवारी दिन लागिएको बार्तेमोउले बताउँदै आएका छन् । क्लबमा जाभीको आगमन भएपश्चात बार्सिलोना फेरि पहिलेकै लयमा फर्कने पनि धेरैको विश्वास छ ।
जाभीको फुटबल इतिहास
जाभी हर्नान्डेजले गत वर्ष आफ्नो खेल जीवनबाट सन्न्यास लिएका थिए । जाबीले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनाबाट खेलेका थिए । ४० वर्षीय जाभी पछिल्लो चार वर्ष यता भने कतारको अल साद क्लबबाट खेलेका थिए ।
उनले क्लबबाट १ सय १३ गोल गरेका छन् भने २९ वटा उपाधि चुमेका छन् । जाभीले आफ्नो देश (स्पेन)का लागि सन् २०१० को विश्वकप उपाधि तथा सन् २००८ र सन् २०१२ को युरो कप दिलाएका छन् । –एजेन्सीको सहयोगमा