पछिल्लो समय एक टेलिभिजन कार्यक्रममा अभिनेता राजेश हमालका विषयमा दिएको अभिव्यक्तिलाई लिएर कलाकार दीपाश्री निरौलाको अपाच्य शब्दबाट आलोचना भइरहेको छ ।
असाध्यै विरोध हुन थालेपछि एक सर्कलका कलाकारले दीपाको पक्षमा अभिव्यक्ति दिन थालेका छन् । कतिपयले अभिनेता हमालले सार्वजनिक रुपमा दीपामाथिको हमला रोक्न अपिल गर्नुपर्ने बताइरहेका छन् ।
केही दिन मौन बसेका कलाकार दीपकराज गिरीले पनि शनिबार फेसबुक लाइभमा आफ्नो ब्रान्डको साख गिराउन केही तत्व लागेको भन्ने आशयको अभिव्यक्ति दिएपछि झन् विवाद चर्किएको छ ।
अभिव्यक्तिकै क्रममा नायिका केकी अधिकारीले दीपा छोरी भएर जन्मिनु नै गल्ती भएको बताएकी छन् । केकीले छोरी भएर कलाकारिता क्षेत्रमा सफल हुनु अर्को गल्ती भएको उनको भनाइ छ । आफ्नो फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै केकीले लेखेकी छिन् ‘आफ्नो विचार राखेर कसैकोे चित्त दुखे पुनः माफी माग्नु नै दीपाको गल्ती भएको हो ।’
के दीपाले छोरी भएकै कारण यति धेरै आक्रमण खेप्नुपरेको हो त ? दीपाको ठाउँमा अर्को कुनै पुरुष कलाकारले राजेश हमाल महानाय होइनन् भनेको भए हमालका फ्यानले यसैगरी आक्रमण गर्थे कि गर्दैनथे ? छोरी मान्छेलाई अन्जानमा गल्ती गर्ने छुटै छैन ? छोरी मान्छेले गल्ती गर्दा पनि समाजले अझै पनि दया भावले हेरिदिनुपर्छ ? अभिनेत्री केकी अधिकारीको स्टाटसका कारण आममान्छेमा यस किसिमका प्रश्नहरु उब्जिएका छन् ।