आज आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्ती मनाइरहँदा नेपालमा उनको पूर्ण कदको सालिक नभएकामा दुःख व्यक्त गरिएको छ । प्राडा. खगेन्द्रप्रसाद लुइटेलले नेपालमा आचार्यको पूर्ण कदको सालिक नभएकामा दुःख व्यक्त गरेका हुन् ।
प्राडा. लुइटेलले आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै फेसबुकमा व्यंग्यात्मक अभिव्यक्ति पोस्ट गरेका छन्, ‘नेपाली महाजातिका आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धाञ्जली । पूर्ण कदको सालिक खोज्न पनि विदेश जान नपरे हुन्थ्यो... ।’
साहित्यकार तथा साहित्यप्रेमीले भानुभक्तद्वारा लिखित रामायणका श्लोक र उनको अर्ध कदको तस्बिर फेसबुकमा पोस्ट गर्दै भानुजयन्ती मनाएका छन् । यसै क्रममा साहित्यकार डा. नवराज लम्सालले फेसबुकमा लेखेका छन्, ‘सम्झनामा आदिकवि सार्थक कविता लेखन सकूँ, समय र अक्षर खेर नजाऊन् ... ।’
कथाकार माया ठकुरीले रामायणका श्लोक वाचन गरिएको अडियो सामग्री फेसबुकमा पोस्ट गरेकी छन् । निबन्धकार युवराज नयाँघरेले फेसबुकमा लेखेका छन्, ‘भाषा भक्त भानुभक्त । श्रद्धा र सम्झना !’
त्यस्तै, साहित्यकार कृष्ण धरावासीले भानुभक्तका पनातिको भानुस्मरण भनेर विधान आचार्यको ‘आइ लभ यू भानुभक्त’ शीर्षकको लेख पोस्ट रेका छन् ।
गायिका सरु गुरागाईंले रामायणको बालकाण्ड वाचन गरिएको अडियो पोस्ट गरेकी छन् ।
यसैगरी भानुभक्तका तस्बिर, रामायणका श्लोक पोस्ट गरेर भानुजयन्ती मनाइएको छ ।