भारतमा कोरोना भाइरसबाट ९३ जना चिकित्सकको मृत्यु भएको छ । कोरोना भाइरसको उपचारका लागि खटिएका चिकित्सकमध्ये ९३ जनाको मृत्यु भएको भारतीय मेडिकल एसोसिएसनको प्रारम्भिक खोजले देखाएको छ । भारतीय मेडिकल एसोसिएसनका प्रमुख डा. राजन शर्माले एक अन्तर्वार्तामा उक्त कुरा बताउँदै १ हजार २ सय ७९ जना चिकित्सक संक्रमित रहेको पनि खुलासा गरेका थिए । संक्रमित हुनेहरुमा ७ सय ७१ जना ३५ वर्ष मुनिका, २ सय ४७ जना ३५ वर्ष माथिका तथा २ सय ६१ जना ५० वर्ष माथिका रहेको डा. शर्माले बताए ।
एसोसिएसनको यस तथ्यांकमा स्वास्थ्य सेवाकर्मीहरु जस्तै नर्सहरू र अन्य स्वास्थ्यसेवा सम्बन्धित कर्मचारीहरू समावेश गरिएको छैन । एसोसिएसनले कति जना सामान्य अभ्यासमा नै मरेको र कतिपयको मृत्युको कारण पत्ता लागि नसकेकाे हुँदा यसमा अनुसन्धान गरिरहेको उनले बताए ।
त्यस्तै, भारतमा सबैभन्दा बढी कोराना भाइरसबाट मुत्यु हुनेमा महाराष्ट्र रहेको छ, जहाँ सबैभन्दा बढी २३ प्रतिशतको मृत्यु भएको छ । तमिलनाडुमा १६ प्रतिशत, गुजरातमा र दिल्लीमा ११ प्रतिशत छ भने उत्तर प्रदेशमा ९ प्रतिशत रहेको छ । भारतभर ९ लाख ७ हजार ६ सय ४५ जना संक्रमित छन् भने २३ हजार ७ सय २७ को मृत्यु भएकाे छ ।