बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिइएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी र जसलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई तलब दिइएको हो ।
अख्तियार अनुसन्धान आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १०० र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा कपाडीले ८१ हजार ९०० तलब लिएको खुलेको छ
उनीहरुले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र ८२ हजार जरिमानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालीन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।