नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय नाम हो –सन्तोष श्रेष्ठ । थुप्रै लोकप्रिय गीतमा संगीत गरेका श्रेष्ठले पछिल्लो समय १२ देशमा बोलिने भाषाका गीतमा संगीत गरे । उनले गरेको यही संगीतले उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा लेखिएको छ । गीतकार डिआर उपाध्यायले लेखेका हुन् । गीत नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा रेकर्डिङ गरिएको थियो ।
गीतमा संगीत गरेरै गिनिज बुकमा नाम लेखाउन सफल हुनु भयो, कस्तो लागिरहेछ ?
सांगीतिक क्षेत्रमा २० वर्ष समय गुजारियो । थुप्रै काम गरियो यि वर्षहरुमा । हरेक गीतको काम गर्दा केहि फरक काम गरौं भन्ने लाग्थ्यो । सांगीतिक यात्राको २० वर्ष पार गर्दै गर्दा मेरो नाम ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ मा लेखिएको छ । गिनिज वल्ड रेकर्डले विश्व कीर्तिमानी सङ्गीतकारको उपाधि सहितको प्रमाणपत्र प्रदान गरेको छ । यो कामले आफूलाई अत्यन्तै गौरवान्वित र जिम्मेवारी थपिएको महसुस भइरहेको छ ।
जुन गीतले गिनिज बुकमा नाम लेखायो, त्यो गीत गिनिज बुककै लागि तयार पारिएको थियो ?
साङ्गीतिक यात्राको सिलसिलामा पछिल्लो समयमा विभिन्न विषयमा फरकफरक खालका प्रयोग गर्दै गर्दा यो विषयमा पनि एउटा सोच बनाएरनै अगाडि बढिएको हो । नेपाली सङ्गीतलाई विश्वव्यापी बनाउने सिलसिलामा एउटा विभिन्न अन्तर्राष्ट्रिय भाषाको गीत बनाउने योजना बनेपछि गिनिज वल्ड रेकर्डको अफिसियल गाइड लाइन अनुसारको प्रक्रिया अवलम्बन गर्दै यो गीतको तयारी गरिएको थियोे ।
एकै पटक १२ भाषाका लागि संगीत गर्न कत्तिको गाह्रो भयो ?
अरुभन्दा फरक केहि गर्न जोखिम त मोल्नै पर्छ । आफूले बोलीचालीमा समेत प्रयोग नगरिएका भाषाका गीतमा सङ्गीत गर्नु र गायनका माध्यमबाट पूर्णता दिनु त्यति सजिलो त थिएन । विश्वव्यापी रूपमा बोलिने बाह्र भाषालाई गीतमा समेटिएको छ । बाह्र भाषामा तयार गरिएको गीतमा साङ्गीतिक सिद्धान्त अनुसार बाह्र स्केलमा सङ्गीत गरेर गाउन लगाइएको छ । यो प्राविधिक हिसाबले बाह्र भाषामा बाह्र स्केलमा सुमधुर गीत बनाउने काम विश्वकै चुनौतीपूर्ण साङ्गीतिक सिर्जनात्मक काम हो । यसैको परिणामस्वरूप विश्व कीर्तिमानीको उपाधि सहितको प्रमाणपत्र प्राप्त भएको छ ।
तपाईको संगीत भर्ने शैली भन्नु पर्दा ?
सबै संगीतकारहरुको संगीत भर्ने शैली आ–आफ्नै हुन्छ । मेरो पनि आफ्नै किसिमको शैली छ । म मेरो शैलीलाई नेपाली मौलिक शैली भन्न रुचाउँछु । जब नेपाली मौलिक शैली हराउँछ अनि संगीत गर्नु, नगर्नुको कुनै अर्थ हुँदैन । संगीतमा मौलिक शैली हराउँनु भनेको साभार शैलीको सुरुवात हुनु हो ।