एजेन्सी– अघिल्लो वर्षको ३० मेदेखि १४ जुलाईसम्म आइसिसी विश्वकप क्रिकेट सम्पन्न भएको थियो । विश्वकपको १२औं संस्करणमा १० टिम सहभागी थिए । राउन्ड रोेबिनका आधारमा खेलाइएको विश्वकपको फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डले स्थान पक्का गरेका थिए ।
१४ जुलाई २०१९ मा लन्डनको लर्डस् मैदानमा उक्त फाइनल खेल भएको थियो । यस फाइनलबाट विश्व क्रिकेटले नयाँ विश्व विजेता पाउने पक्का थियो किनकि यसअघि न्युजिल्यान्ड र इंग्ल्यान्डले विश्वकपको उपाधि उचालेका थिएनन् ।
खेल निर्धारित समयमा नै सुरु भयो । न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे । न्युजिल्यान्डले २९ रनमा पहिलो विकेट गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान विलियमसन र हेनरी निकोल्सले ७४ रनको साझेदारी गरे । विलियमसन ३० रनमा आउट भएका थिए । न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । इंल्यान्डका लागि क्रिस वोएक्स र लियम प्लङकेटले समान ३–३ विकेट लिए ।
ऐतिहासिक फाइनल खेलमा २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंल्यान्डले उक्तृष्ट सुरुवात गर्न सकेन । इंल्यान्डले ८६ रन बनाउँदा ४ विकेट गुमाएको थियो । बेन स्टोक्स र जोस बटलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमको स्कोर २०० रनको नजिक पुर्याएका थिए । स्टोक्सले ८४ तथा बटलरले ५९ रन बनाए ।
अन्तिम २ ओभरमा इंग्ल्यान्डलाई जितका लागि ४ विकेटको साथ २४ रन आवश्यक थियो । जिम्मी निशमले ४९औं ओभरमा ९ रन दिँदै २ विकेट लिए । अन्तिम ओभरमा इंग्ल्यान्डले जितका लागि १५ रन बनाउनुपर्ने थियो । स्ट्राइकमा इंल्यान्डका स्टोक्स थिए भने बलिङमा अनुभवी बलर ट्रेन्ट बल्ट थिए ।
बल्टको पहिलो र दोस्रो बलमा स्टोक्सले रन बटुल्न सकेनन् तर उनले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा भने मैदानमा अचम्मको दृश्य देख्न पाइयो । बललाई मिड विकेटतिर धकेल्दै स्टोक्स २ रन जोड्न दौडिएका थिए । उनले दोस्रो रन जोड्दै गर्दा मार्टिन गप्टिलले स्टम्सतिर बल फालेका थिए तर बलले बाउन्ड्री पार गर्यो । त्यससँगै एम्पायरले थ्रोको रुपमा इंग्ल्यान्डलाई ४ रन दिएसँगै उक्त बलमा ६ रन बन्यो । अब जितका लागि इंल्यान्डलाई ३ रन आवश्यक बन्यो । पाँचौं र अन्तिम बलमा एक एक रन बनेसँगै खेलमा बराबरी भयो ।
विजेता सुनिश्चित गर्नको लागि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर आभेरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन बनायो । त्यससँगै १६ रनको विजयी लक्ष्य पाएको न्युजिल्यान्डले पनि १५ रन मात्र बनाउन सक्यो । ५०– ५० ओभरमा खेल बराबरी भएपछि खेलाइएको सुपर ओभर पनि बराबर भएसँगै आइसिसीको नियमअनुसार बाउन्ड्रीको संख्याअनु्सार इंल्यान्डलााई विजेता घोषणा गरियो । तर, आइसिसीको उक्त नियम पछि विवादित बनेको थियो ।