अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिब १६० वर्षभन्दा पुराना राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा–२ मा सबैभन्दा गहिरो स्थानमा छ । वर्षाको बेला कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जनाए ।
कारागारको बाहिर मूल गेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारमा ४ सय ९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५ सय ४५ जना छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्न समस्या भएको छ ।
त्यस्तै, सुरक्षाकर्मीले पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाइ नभएकोे जेलर महासेठले बताए ।