प्रधानमन्त्री केपी शर्मा ओलीलाई भानुजयन्तीका अवसरमा राम जन्मभूमिबारे दिएको अभिव्यक्ति फिर्ता लिएर जनतासमक्ष आत्मालोचना गर्न अनुरोध गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्रीका अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विवाद उत्पन्न गरेकाले मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न अनुरोध गरेका हुन् ।
गौतमले ओलीलाई केही समयअघि नै बिनाअनुसन्धान र बिनातथ्यप्रमाण यस विषयलाई कहीँ कतै व्यक्त नगर्न सल्लाह दिएको बताए । गौतमले भने, ‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाणबिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।’
गौतमका अनुसार प्रधानमन्त्रीले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सकिनेछ ।’ गौतमले भने, ‘उहाँले उठाउनुभएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत साबित भएको अवस्थामा इतिहासकारले सार्वजनिक गर्नुपर्दथ्यो ।’
गौतमले भने, ‘संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदाय छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्याउने क्रियाकलाप गर्न कसैले हुँदैन ।’
गौतमले प्राविधिक तथा इतिहासविद्को टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेका छन् । कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर राष्ट्र र समुदायले स्वार्थ पूरा गर्ने दुष्कर्म गर्न नहुने उनको भनाइ छ ।