एक किलो सलह ५ सय रुपैयाँमा किन्ने प्रस्ताव गरिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलहलाई विषादी प्रयोग नगरी नियन्त्रण गर्न मन्त्रालयमा सो प्रस्ताव गरेको हो ।
यसअघि विभिन्न स्थानीय तहले एक किलो सलह २०, ५० र १०० रुपैयाँमा किन्ने घोषणा गरेका थिए । सर्वसाधारणमा उत्साह नदेखिएपछि सलहको मूल्य बढाएर ५०० दिने प्रस्ताव गरिएको हो ।
नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी गर्न कृषि मन्त्रालयले विज्ञसहितको प्राविधिक कार्यदल गठन गरिएको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।
केन्द्रले सलहबाट हुने क्षति कम गर्न सबै निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । नेपालमा सलहको सानो झुन्ड आएको छ । यसले धेरै क्षति गरेको छैन ।
विज्ञका अनुसार सलहको आयु झन्डै तीन महिना हुन्छ । झुन्ड नेपाल आउने क्रम भने रोकिएको छैन । पटक पटक विभिन्न जिल्लाबाट सलहका झुन्ड प्रवेश गरिरहेका छन् । मुलुकका ५४ जिल्लामा प्रवेश गरेको सलह भने विखण्डित हुँदै केही मर्ने, केही शिथिल हुने र केही सक्रिय हुँदै आएको छ ।
विषादी प्रयोग हानिकारण
प्राविधिक कार्यदले विषादी प्रयोगलाई निरुत्साहित गर्दै आएको छ । मानवबस्ती क्षेत्रमा विषादी प्रयोग गर्दा ठूलो क्षति हुने भएकाले विषादीलाई प्राथमिकता दिइएको छैन । ‘विषादीले अहिले सलहले गरेकोभन्दा धेरै क्षति गर्न सक्छ, मानवीय र प्राकृतिक वातावरणमै असर गर्ने भएकाले विषादी प्रयोगलाई निरुत्साहित गरेका छौं,’ हुमागार्इंले भने । उनले अहिले नै रासायनिक विषादी हालेर सलह मार्नुपर्छ भन्ने निष्कर्षमा भने नरहेको बताए ।