बकैया—४, मकवानपुर
निमेष सर बग्दै बग्दै गएको हो
यो उमेरको नदी
समयसँगै फुलेको हो यो दाह्री
झर्दै गएको हो टाउकामा कपाल
थाहा छैन, समय पाक्यो कि पाकेन
जरुर यो उमेर पाकेको छ ।
समय छालसँगै बग्दो छ कताकता
टिपेर गुराँस कसरी लगाउनु त्यो चुल्ठोमा
हतारमा कुदिरहेका मान्छेहरुको हुलसँगै
कसरी दौडिनु असमय म ।
बोकेर मनभरि फुलमायाको याद
कैले हलुका हुनु जीवनदेखि
लिएर ऋण आफ्नै देशको
कसरी चैन मिल्नु परदेशमा बस्दा
बासु सरले घोकाएका अङ्ग्रेजी ब्याकरणमा
बा–आमाको यादलाई कसरी पोखाउनु ?
जीवनको हिसावकिताबलाई मिलाउन
ऐकिक नियम नयाँ बनाउनु कि फेल हुनु ?
प्रिय साथी, तिमीले भनेजस्तै न्युटनको नियम
मेरो घरमाथिको पहिरोमा पर्छ कि पर्दैन ?
र म बस्ने खोला छेउको ढुङ्गामा लेखेको
मेरि प्रियसीको नाम बाँकी छ कि मेटियो ?
म यो देशको युवा बेचेर रगत पसिना
पालिरहेँ देश, चलाईरहेँ घरपरिवार ।
यतिखेर सरकार !
मसँग मात्रै दुईवटा किड्नी बाँकी छन्
कुन किड्नी बेचेर बा–आमा पाल्नु ?
र कुन बेचेर कर तिर्नु तिमिलाई ?
मध्यरात क्वारेन्टाइनमा बसेर सोचिरहेको छु
सरकारले आफै पासो लगाई दिन्छ कि
घाटीमा मैले आफै लगाउनु पर्छ ।