निजी विद्यालयले १ साउनदेखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले बुधबार विज्ञप्ति निकालेर अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।
बन्दाबन्दीका कारण आम्दानी शून्य भएकाले निजी विद्यालयले २ लाख ३० हजार शिक्षक र कर्मचारीलाई वैशाखदेखि तलब खुवाउन सकेका छैनन् । नियमित खर्चसमेत धान्न नसकेकाे बताइएकाे छ ।
‘यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यावसायिक संकट आइपरेकाले कार्यालय बन्द गरी बस्नु उचित विकल्प हो भन्ने महसुस भएको छ । तसर्थ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने निर्णय गर्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले १ असाढ २०७७ सालदेखि जारी गरेको ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’अनुसार निजी विद्यालयले वैकल्पिक कक्षाहरू (अनलाइन÷अफलाइन) सञ्चालन गरेका थिए ।
‘विद्यालय सुचारु भई आम्दानी सुनिश्चित भएपश्चात् अनुपातिक हिसाबले २०७७ वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलबलगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमशः भुक्तानी गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।