एक समय नेपाली चलचित्रको पार्श्व गायनमा निकै रुचाइएकी गायिका हुन्– देविका बन्दना । भरे आउँछु सपनीमा पर्खिराख है, हे मायालु तिमीलाई धेरै सम्झना, यस्तै रहेछ यहाँको चलनलगायत ६ सय बढी गीतमा स्वर दिएकी गायिका बन्दनासँग नेपाली पब्लिकका लागि गरिएको कुराकानीको सम्पादित अंश ः
गायनयात्राका क्रममा अविस्मरणीय क्षण सम्झनुपर्दा ?
दुई दशकअघि दरबारमार्गमा पप संगीत कन्सर्ट आयोजना हुन्थ्यो । जहाँ सञ्जय श्रेष्ठ, रतन सुवेदी, मलगायतले गीत गाउँथ्यौं । सोही बेला म स्टेजमा गाइरहेकी थिएँ । रतन सुवेदी आएर ‘तिम्रो ठूलो फ्यान नाङ्लो बेकरीमा कुरिरहेको छ भनेर जानकारी गराए । उनले फ्यानसँग भेट गर्न कर गरेको गर्यै गरे ।
मैले यहीँ बोलाऊ भनेर दुई–तीनपल्ट त अस्वीकार गरें तर असाध्यै कर गरेपछि म त्यहाँ जान बाध्य भएँ । त्यहाँ पुग्दा म आश्चर्यचकित भएँ, तत्कालीन राजकुमार दीपेन्द्र कुरेर बसिरहनुभएको रहेछ । त्यतिबेला उहाँले भन्नुभयो, ‘म यहीँबाट तिम्रो कन्सर्ट हेरिरहेको थिएँ । जुन मेरा लागि गायन यात्रामा आजसम्मकै यादगार क्षण हो ।
मन पर्ने गीत कुन हो ?’
‘यस्तै रहेछ यहाँको चलन’ गीत नै मनपर्छ । किनभने त्यो गीत पछि मैले पछाडि फर्केर हेर्नुपरेन । अहिलेसम्म मैले हजारभन्दा बढी गीत गाइसकेकी छु ।
समयअनुसार गायन शैली परिवर्तन गर्न आवश्यक छ ?
समयको मागसँगै संगीत बदलिरहनुपर्छ । मलाई त मोडर्न गीत–संगीत मन पर्छ ।
सफल गायिका बन्न के के आवश्यक पर्छ ?
स्वर, सांगीतिक शिक्षा, साधना, लगाव र संस्कार ।
समयअनुसार चल्न के केमा अपडेट हुन जरुरी लाग्यो ?
हुन त संगीत सिकेर कहिल्यै सकिँदैन । आधुनिक प्रविधिसँग अझ फ्रेन्डली हुन पाए राम्रो हुन्थ्यो ।
000