बैतडी– बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ३२ वर्षीय छोराले ६१ वर्षीया आमालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवालाई पक्राउ गरिएको हो ।
मंगलबार जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक पटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । उनले भने, ‘छोरीको शरीरमा पनि निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा पुग्दा बुबाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।’
पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘‘श्रीमतीको मृत्यु भइसकेपश्चात छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मंगलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकाले समातेर प्रहरीलाई बुझाएका हौं ।’