एजेन्सी – इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस् सस्सुलोसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस् र सस्सुलोले ३–३ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा युभेन्टसले ५ मिनेटमा नै अग्रता बनाएको थियो । उसको लागि डानिलोले गोल गरेका थिए । खेलमा निकै आक्रामक देखिएको युभेन्टसले १२ औं मिनेटमा गोन्जालो हेगुइनको गोलमा अग्रता दोब्बर बनायो । खेलमा २ गोलले पछि परेको सस्सुलोले आफुलाई सम्हाल्दै २९ औं मिनेटमा फिलिप डिरुसिसको गोलबाट १ गोल फर्कायो ।
पहिलो हाफ २–१ गोलमा सकिएको खेल दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक बन्यो । सस्सुलोका खेलाडी डोमेनिसो बेरार्डीले ५२ औं मिनेटमा गोल गर्दै क्लबलाई बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै सस्सुलोका फ्रान्सेसो क्यापुटोले गोल गर्दै खेलमा सस्सुलोलाई ३–२ गोलको अग्रता दिलाए । रोमाञ्चक रुपमा अघि बढेको खेलमा ६४ औं मिनेटमा युभेन्टसले बराबरी गोल फर्कायो । उसको लागि अलेक्स स्यान्ड्रोले गोल गरेका थिए ।
यस बराबरीसँगै युभेन्टसले अंक तालिकामा १० अंकको अग्रता बनाउने अवसर खेर फाल्यो। लिगमा ५ खेल खेल्न बाँकी रहँदा युभेन्टसले ७७ अंक जोडेको छ भने समान खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको एटलान्टाको ७० अंक रहेको छ ।