एजेन्सी– बालबालिकाको डाटाहरुको गलत प्रयोग गरेको भन्दै दक्षिण कोरियाले टिकटकलाई जरिमाना गरेको छ । कोरिया कम्युनिकेसन्स कमिसनले टिकटकमाथि १८ करोड ६० लाख वन जरिमाना गरेको हो ।
यो रकम नेपालीमा १ करोड ८५ लाख रुपैयाँ हुन्छ । यो जरिवाना रकम उसले दक्षिण कोरियामा आम्दानी गर्ने वार्षिक रकमको ३ प्रतिशत हो ।कोरियामा गरिएको अनुसन्धानले टिकटकले प्रयोगकर्ता बालबालिकाहरुको डाटा दुरुपयोग गरि पीडित बनाएको पत्ता लगाएको थियो ।
टिकटकको सबैभन्दा बढि प्रयोगकर्ता रहेको देश भारतले पनि केही समय अघि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै हङकङले पनि टिकटकबाट बाहिरिने घोषणा गरिसकेको छ । अमेरिकाले पनि आफ्नो नागरिकहरुको सुरक्षामा चासो दिंदै टिकटक लगायत अन्य चिनियाँ सामाजिक सञ्जालहरु प्रतिबन्ध गर्ने संकेत गरेको छ ।
गत फेबु्अरीमा टिकटकको पूर्व कम्पनी म्युजिकलीमाथि डाटाहरुको सुरक्षा नगरेको भन्दै अमेरिकाको संघीय वाणिज्य आयोगले ५७ लाख डलर जरिवाना गरेको थियो ।