टीकापुर– वृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो ।
समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि व्यक्तिगत रूपमा ५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
‘आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने ५० हजार पुरस्कार दिइनेछ,’ उनले भने, ‘ज्येष्ठ नागरिकको सम्मान र स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौं ।’
वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ नागरिकका हितमा कलम चलाउने पत्रकारलाई समेत बर्सेनि पुरस्कारको व्यवस्था गरेको छ । समितिले १०÷१० हजारको पुरस्कार व्यवस्था गरेको अध्यक्ष रावलले जानकारी दिए ।
‘ज्येष्ठ नागरिकप्रति समाजलाई जिम्मेवार बनाउन ज्येष्ठ नागरिकसम्बन्धी समाचार लेख्ने एक जना पत्रकारलाई पनि पुरस्कार दिने भएका छौं,’ उनी भन्छन्, ‘हाम्रो एउटै उद्देश्य ज्येष्ठ नागरिकको हेरचाह होस् भन्ने हो ।’