काठमाडौं– पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ ।
पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटक पटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएको स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल सुरु भएको हो ।
असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो । स्थायी कमिटीको बैठक असार १० गतेदेखि सुरु भएको थियो ।