काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफुले सक्ने सहयोग गर्ने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा यातायात व्यवसायी तथा मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त भेटमा ओलीले सार्वजनिक यातायात सञ्चालन गर्न केकस्तो सहयोग गर्न सकिन्छ त्यसका लागि सरकारले पहल गर्ने बताएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदूर सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गरेका थिए ।
प्रतिनिधिमण्डलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर सङ्घका धर्मराज भण्डारी सहभागी रहेको थियो ।