पछिल्लो समय नेपाली गीत संगीतमा अनेक प्रयोग गर्ने गीतकार हुन्– डा. डिआर उपाध्याय । यही फरक प्रयोगका कारण उपाध्यायले १५औँपटक गिनिज बुकमा नाम लेखाएका छन् । कोरोना कहरका बीचमा पनि उनले विश्वका १२ भाषामा गीत लेखे, रेकर्ड गरे र सार्वजनिक गरे । उनको यो कामसमेत गिनिज बुकमा लेखिएको छ । उनै गीतकार उपाध्यायसँग नेपाली पब्लिकका लागि गरिएको संक्षिप्त कुराकानी :
कोरोना कहरका बेला गिनिज बुकमा नाम लेखाउन कतिको गाह्रो भयो ?
सुरुका केही दिन मुस्किल भयो । आफन्तको साथ नपाउने, आफन्तलाई केयर गर्न नपाउने, कस्तो रोग आयो ! लागिहाल्यो भने आफन्तको साथबिनै कसरी लड्ने भन्ने चिन्ता भयो । नेपालमा बन्दाबन्दी घोषण भएपछि सबै कामकाज ठप्प भए । त्यसपछि आफूलाई सिर्जनात्मक कर्ममा लगाउनुपर्छ भन्ने सोच आयो । दिनभर सिर्जनशील काममा तल्लीन भएँ । तीन महिनाको अवधिमा ६० वटा गीत र एउटा उपन्यास लेखें । लेख्दै गर्दा लाग्यो– लेख्नु नै ठूलो कुरा होइन, केही फरक गरौं ।फरकपनको भोकले एउटै गीतलाई १२ भाषामा लेखेको हुँ । त्यसलाई १२ भाषामा रेकर्ड गराए । अरूले यो काम गरेका रहेनछन् । त्यसैले मेरो नाम गिनिज बुकमा लेखियो ।
गीत लेखेरै गिनिज बुकमा नाम लेखाउँछु भन्ने लागेको थियो ?
गन्तव्यबिनै हिँडेर त लक्ष्यमा कहाँ पुगिन्छ र ? सपनासहित यात्रामा निस्किने हो । सबै सपनाले गन्तव्यमा नपु¥याउन पनि सक्छन् । यसपटक सपनाले लक्ष्य भेट्टाएको छ । खुसी छु । अझै केही गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको छ । केही नयाँ काम अझै छन् । जिन्दगीभर फरक खालका सपना बोकेर यात्रा गर्ने यात्री हुँ । केही फरक काम साउन २५ गते सार्वजनिक गर्ने तयारी गरेको छु ।
एउटै गीतलाई १२ भाषामा लेख्न कतिको गाह्रो भयो ?
सजिलै गर्न सकिने काम त कसरी गिनिज बुकमा पथ्र्यो होला र ? धेरै गाह्रो भयो । तर, दृढ सोचसहित उद्देश्यतर्फ लम्किएपछि असहजता र अप्ठ्यारो पनि सरल हुने रहेछ ।
१५औँ पटकसम्म गिनिज बुकमा नाम लेखाउन के कुराले अभिप्रेरित गरिरहेको छ ?
सबैभन्दा ठूलो कुरा त सपना रहेछ । सपनाले यसै बस्न दिएनन् । अरूकै बाटोमा हिँड्न पनि दिएनन् । मलाई लाग्यो– हाम्रो गीत संगीत भीड दौडिएकै बाटोमा दौडिरह्यो भने भीडसँगै हराएर जानेछ । मान्छेहरुलाई मेरो लेखाइ अनौठो लाग्छ । तर, मलाई सधैं समाज, भुइँ मान्छे, सीमान्तकृत समुदायका लागि केही लेख्न सकिन भन्ने कुराले बारम्बार चिमोटिरहन्छ । मैले यही समाजको कुरा लेखेको हुँ । सबैले लेख्नुभएको छ । मैले फरक प्रयोग गरेको छु । म लेख्नेबित्तिकै गीत रेकर्ड गर्दिन, विभिन्न ठाउँमा जचाउँछु । ठीक छ भन्ने भएपछि मात्रै रेकर्ड गराउँछु । सन्जोग मान्नुपर्छ– मेरो फरक गर्ने सोच, विश्वमै फरक भइरहेको छ ।
तपाईंले गीत संगीतमा यतिको लगानी किन गरिरहनुभएको छ ?
मैले कमाएको सम्पत्ति मेरो मृत्युपछि आफन्तले आफ्नो नाममा गर्छन् । तर, मेरा सिर्जना कसैले कहिल्यै नामसारी गरेर लान सक्दैनन् । म भन्नु नै मेरो सिर्जना हो । यो माटोमा छाडेर जाने भनेको आफ्नो कर्म मात्रै हो, जसमार्फत म नहुँदा पनि मेरो सम्झना र चर्चा बाँकी रहन्छ । आज मैले सिर्जनामा गरेको लगानी मेरो मृत्युपछिको कमाइ हो । म अहिलेलाई होइन, मृत्युपछिलाई कमाइरहेको छु ।