काठमाडौ– आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन सात प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व विभागका अनुसार यस वर्ष कूल ३८४ अर्ब ३१ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा राजस्व संकलन कूल ३५८ अर्ब ४१ करोड भएको थियो ।
गत वर्षको तुलनामा आव २०७६÷७७ मा राजस्व संकलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । विभागका अनुसार आयकर २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ र ९८ अर्ब २२ करोड, अन्तःशुल्क ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुःल्क र अन्य गरेर ४ अर्ब ४ करोड गरी कूल ३८४ अर्ब ३१ करोड राजस्व संकलन भएको छ ।
गत वर्ष १ लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ ।
कोभिड–१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबाजुद असल नागरिकरको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।