कास्की– माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा–८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समीर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
सुरक्षाकर्मी तथा स्थानीयले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुंगा माटोले बनेको कच्ची घरका तीनवटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जनाए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमिको दूरीमा पर्दछ ।