झापा– झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा खर्च गरेका छन् । नगरप्रमुख पोखरेलले नगरपालिकाको प्रमुख चढ्नका लागि विनियोजन गरेको रु ६० लाख बजेटलाई प्राविधिक शिक्षालय स्थापनामा खर्च गरेका हुन् ।
कनकाईकी उपप्रमुख मञ्जु प्रसाईका अनुसार नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएको जनाए । उनले भनिन्, ‘नगरपालिकाले कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि रु ६० लाखमध्ये रु ३० लाख रकम लगानी गरिएको हो ।
पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका पोलिटेक्निक इन्स्टिच्युट सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ । कनकाई–७ दुर्गापुरमा रहेको इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको छ ।