काठमाडाैं– बाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ का लागि सो अस्पतालसहित प्रदेशअन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार धुलिखेल सामुदायिक अस्पतालमा ५० लाख, राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखुमा ३० लाख, नेसनल किड्नी सेन्टर वनस्थली काठमाडौंमा ३० लाख, नेपाल कुष्ठरोग निवारण संघ दक्षिणकालीमा ३० लाख, हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३० लाख र मनमोहन समुदायिक अस्पताल स्वयम्भूमा ३० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, मन्त्रालयले मकवानपुर, नुवाकोट तथा भक्तपुरका अस्पताललाई न्यूनतम सेवा मापदड सुधार गर्नेतर्फ २५÷२५ लाख बजेट विनियोजन गरेको छ । कोरोना संक्रमण नियन्त्रण प्रयोगशाला उपकरण खरिद गर्न १ करोड बजेट छुट्याइएको छ भने बाग्मती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनासमेत बनाइएको छ ।
प्रदेश सरकारले चालू आव २०७७-७८ मा हेटौंडा अस्पताललाई ३ सय शय्याको क्षमतामा स्तरवृद्धि गर्ने जनाएको छ । साथै भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १००-१०० शय्या क्षमताको विशिष्टीकृत सेवासहितको अस्पताल निर्माण गर्ने, धादिङ र चौतारा अस्पताललाई ५०-५० शय्या क्षमताको अस्पताल बनाउने तथा रामेछाप र रसुवा अस्पतालाई २५-२५ शय्या क्षमताको अस्पतालमा स्तरोन्नति गरिनेछ ।
मन्त्रालयले स्वास्थ्य सेवातर्फका विभिन्न पदमा प्राविधिक स्वास्थ्य पदका लागि मागसमेत गरेको छ । स्थानीय समाजसेवी हरिप्रसाद रिजालले हेटौंडा प्रदेशको राजधानी भए पनि गम्भीर बिरामीलाई उपचार गर्न हेटौंडा बाहिर पठाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।