झापाका राजेन्द्रकुमार पोखरेलले २०३६ सालमा विद्यार्थी राजनीति सुरु गर्दा नै सोचेका थिए– शिक्षा बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री मात्रै नबनोस् । त्यतिबेलै उनले बुलन्द आवाज उठाएका थिए– हाम्रा विद्यार्थीले पढ्दा पढ्दै आफूलाई काम गर्न तयार बनाउनुपर्छ । तर, उनले सोचे जस्तो भएन ।
उच्च शिक्षाको प्रमाणपत्र हुनेहरू कार्यानुभव अभावका कारण काम नपाएर निराश हुँदै घर फर्कंदा उनको मन भतभती पोल्थ्यो । उनी आफैं विद्यार्थी जीवनमा बेरोजगार भए । तर, मध्यम वर्गीय परिवारका पोखरेललाई पढाइका लागि आर्थिक समस्या भएन । उनले त्यही बेला सोचेका थिए– शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । उनी कामना गर्थे– देशमा शिक्षित बेरोजगार नहोऊन्, पढाइको ऋण तिर्न कोही बिदेसिन नपरोस् ।
तैपनि उनको समयमा देशमा प्राविधिक शिक्षा सहज भएन । शिक्षित बेरोजगार र बिदेसिने युवाको संख्या बढ्दै गयो ।
राजेन्द्रको राजनीतिक जीवनले उचाइ लिँदै गयो । उनी झापाको कनकाई नगरपालिकाका नगरप्रमुख भए । यसपछि उनलाई शिक्षा प्रणालीमा सुधारका काम गर्न सजिलो भयो । उनका लागि सवारीसाधन खरिद गर्न ६० लाख बजेट विनियोजन गरिएको थियो । उनले ६० लाखबाट ३० लाख रुपैयाँ प्राविधिक शिक्षामा खर्चिने योजना बनाए ।
उनले कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि ३० लाख लगानी गरे । इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए । त्यहाँ सिटिइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ ।
नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा यस इन्स्टिच्युटलाई सामुदायिक साझेदारीमा आधारित इन्जिनियरिङ कलेजका रूपमा विस्तार गर्ने योजना बनाइएको छ .
राजेन्द्रले भने, ‘हामी देश समृद्ध भएको सपना देख्छौं । जनता सुखी भएको सपना देख्छौं । जनता सुखी हुन आर्थिक स्तर माथि उठ्नुपर्छ । आर्थिक उन्नतिका लागि रोजगारी चाहिन्छ । रोजगारी प्राप्त गर्न पनि प्राविधिक शिक्षा आवश्यक छ’
प्राविधिक शिक्षाका विद्यार्थी बेरोजगार नहुने भएकाले यसमा लगानी गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘परिवर्तनको सोच बोकेर हिँड्ने व्यक्तिबाटै परिवर्तनका लागि कदम चाल्नुपर्छ । हामीले केही सुविधा उपभोग नगर्दा देशको समृद्धिमा टेवा पुग्छ भने यसो किन नगर्ने ?’
राजेन्द्रले जनप्रतिनिधिबाट सोचे, बोले र सपना देखे जति काम नहुँदा राज्यप्रति जनताको वितृष्णा बढ्दै गएको सुनाए । उनले भने, ‘गर्नुपर्ने काम गर्न सकिएन । गर्न नसक्नुका पछाडि धेरै कारण छन् । नेताप्रतिको धारणा परिवर्तन हुन जरुरी छ । त्यो परिवर्तनका लागि हामीले आफूलाई पनि सच्चाउँदै लैजान सक्नुपर्छ । त्यसैको एउटा खुड्किलो निर्माण गरेको हुँ ।’
साइकल लेन
राजेन्द्र प्रायः साइकलमा यात्रा गर्छन् । आव २०७६/७७ मा कनकाई नगरसभाले उनका लागि सवारी खरिद गर्न ६० लाख बजेट विनियोजन गरेको थियो । उनले विनियोजित बजेट साइकल लेन निर्माणमा खर्चने विचार गरे । उनी देशमा ‘साइक्लिङ कल्चर’ बसेको हेर्न चाहन्छन् । उनी सपना पूरा गर्न तत्परतामा विश्वास गर्छन् । सपना पूरा गर्नै साइकल प्रयोग गरेको सुनाउँछन् ।
साइकल लेन निर्माण गर्ने उनको तयारी कोरोना महामारीका कारण अधुरो रह्यो । उनी आगामी आवमा साइकल लेन निर्माण पूरा गर्ने बताउँछन् ।