काठमाडाैं-असारको अन्तिम सातादेखि आएको वर्षाका कारण बाढीले सप्तरी र सिरहाको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ ।
रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको छ ।
यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको छ ।
डुबानमा परेकामध्ये सरदर एक एक हजार हेक्टर खेत जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली जोगिन सक्छ तर लगत्तै वर्षा भएमा क्षति हुने कृषि ज्ञान केन्द्रले बताएको छ ।
सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ । वर्षाका कारण केही क्षेत्रमा धानबाली डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएकाले सप्तरी र सिरहामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।
यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ । अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो ।