पाँचथर - पाँचथरमा सबै कोरोना सङ्क्रमित निको भएपछि अहिले त्यँहाको क्वारेन्टिन खाली भएको छ । पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् ।
यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको संख्यासमेत शून्यमा झरेको छ । विदेशबाट आएका चार जना कोरोना सङ्क्रमित मानिस निको भएपछि फिदिमको क्वारेन्टिनमा हाल मान्छे छैनन् ।
सरकारले उनीहरुलाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरेको थियो ।
पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो ।
उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।
यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स युएईबाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।