काठमाडौं– साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । वि.सं. २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।
उनी क्यान्सरबाट पीडित थिए । आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले वि.सं. २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेका थिए ।
आत्रेयले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए । आजै पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार उनको अन्त्येष्टि गरिएको छ ।