वासिङ्टन डिसी– फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोबाइल फोन वा ट्याबलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (सेयर) गर्न सकिने नयाँ सुविधा सुरु गरेको हो ।
त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीच कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।
अहिले फेसबुक एप प्रयोगकर्ताले सामूहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन सेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाँडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन सेयर गर्न सक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । यो सुविधा प्रयोग गर्न मोबाइल वा ट्याबलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुपर्छ ।
स्क्रिन सेयर गर्न म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘सेयर योर स्क्रिन’, ‘स्टार्ट सेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।