काठमाडौं– कम्युनिस्टहरू रातो मुला जस्तो बाहिर रातो र भित्र सेतो भएको बताइएको छ । प्रगतिशील लेखक संघले आज भर्चुअल रूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औं शृंखलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिस्टहरू रातो मुला जस्तो भएको बताएका हुन् ।
श्रेष्ठले कम्युनिस्ट शक्तिलाई बाहिर र भित्र रातै हुने गाजर जस्तो हुन अनुरोधसमेत गरेका छन् । उनले भने, ‘कम्युनिस्टहरु रातो मुला जस्तो बाहिर रातो र भित्र सेतो नभई बाहिर र भित्र पनि रातो हुने गाजर जस्तो हुनुपर्छ ।’
उनले एकले अर्कालाई हटाएर रूपान्तरण हुने बहसमा नलाग्नसमेत सुझाएका छन् । उनले भने, ‘एक जनालाई कुर्सीबाट हटाएर अर्कोलाई ल्याउनुपर्छ भन्ने मात्रै बहस छ, यस्तो बहसले कहीँ पुर्याउँदैन । मुलुकको रुपान्तरणका लागि नेकपाका लागि यो ठूलो अवसर हो, सरकारले बोलीमा मात्र नभई व्यवहारमै समाजवादोन्मुख कार्यक्रमलाई अगाडि नबढाए यो अवसर गुम्न सक्नेछ ।’
श्रेष्ठले विज्ञानका क्षेत्रमा धेरै विकास भए पनि लेनिनपछि मार्क्सवादी दर्शनका क्षेत्रमा कुनै विकास नभएको पनि जानकारी दिए ।
संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कृषि, शिक्षा र स्वास्थ्यमा रुपान्तरण अहिलेको आवश्यकता भएको बताए । उनले सत्तामा रहेकाहरुको आँखा खोल्ने काम बुद्धिजीवी र प्रगतिशीलहरुको हुने भएकाले यस प्रकारको पहललाई निरन्तर राख्नुपर्ने बताए ।
गिरीले धेरै ठूलो संघर्षपछि झन्डै दुई तिहाइको सरकार बनेकाले यसले राष्ट्रियता र केही अन्य पक्षमा राम्रा काम गरेको र केही सुधारका काम हुन बाँकी रहेको स्थितिमा वर्तमान सरकारलाई किनारा लगाइहाल्ने सोच सही नहुने तर्क गरे ।
संघका उपाध्यक्ष एवं चिन्तक गोपीरमण उपाध्यायले नयाँ संविधान जारी भएको पाँच वर्ष भइसकेको सन्दर्भमा समाजवादी ध्येयका आधारमा दर्शन, साहित्य, कला, राजनीति र सबै क्षेत्रलाई बहसमा ल्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै, संघका महासचिव समीर सिंहले भने, ‘मुलुकमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? सांस्कृतिक रुपान्तरण कसरी गर्ने ? कम्युनिस्ट हुन पार्टीको सदस्य बन्नैपर्छ कि पर्दैन ? कम्युनिस्ट भएर तडकभडकयुक्त र खर्चिलो सामाजिक काम गर्ने कि नगर्ने ?'