काठमाडौं– पछिल्लो समय समाचारको विषयलाई लिएर सञ्चार माध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको बन्दाबन्दीको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी ७३ वटा उजुरी परेका छन् ।
उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।
आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २ सय ६५ वटा पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेका छन् । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फछ्र्योट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १ सय ६३ समाचार आचारसंहिता उल्लंघनका छन् । ती सबै फछ्र्योछ भएका छन् । यसैगरी जनगुनासोमध्ये तीनवटा उजुरी पनि फछ्र्योट भएका छन् ।
छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फछ्र्योट गरिएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फछ्र्योट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन ।
त्यसैगरी, विद्युतीय माध्यमविरुद्ध यो वर्ष १५७ वटा उजुरी परेका छन् । तीमध्ये १ सय २३ फछ्र्योट भएको छ । स्वअनुगमनबाट ५ सय ५४ आचारसंहिता उल्लंघनका समाचार सामग्री भेटिएका छन् । तीमध्ये ५ सय ५१ वटाको फछ्र्योट पनि भएको छ । बन्दाबन्दी अवधिमा विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ ।
यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारबाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए ।
त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरु, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ । काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।
यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्युठान, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुसालले जानकारी दिए । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५ सय ३९ सामग्री अभिलेख गरिएको छ । विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख ५ हजार ४ सय ९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ ।
वि.सं. २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी, पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आबद्ध ९ सय ७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ ।