काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बसेको नेकपा सचिवालय बैठक सकिएको छ । करिब चार घण्टा लामो बैठकमा पार्टीमा देखिएको आन्तरिक संकट सहमतिका आधारमा समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा जनादेशअनुसार काम गर्ने र पार्टी सुदृढ पार्ने विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, पार्टीकोआन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने प्रस्ताव तयार गरिने भएको छ । उनले छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्नेसमेत जनाए ।