पोखरा– उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षाअनुरुप भएको बताएका छन् । लकडाउनका कारण धराशायी बनेका व्यवसायीलाई राहत दिने गरी आएको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरुको भनाइ छ ।
उनीहरुले मौद्रिक नीतिमा आएका विषय कार्यान्वयनमा आउन सके कोभिड–१९ कारण सिर्जित समस्याको अधिकतम समाधान हुने बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारले कोभिड–१९ को प्रभावमा परेका व्यवसायीका मागलाई मौद्रिक नीतिले समेटेकाले स्वागतयोग्य भएको बताए ।
‘बजेटमा नै व्यवसायीको समस्याको सम्बोधन हुन्छ भन्ने सोचे पनि त्यो नभएको अवस्थामा मौद्रिक नीतिमा समावेश हुनुपर्छ भनेर पटकपटक सुझाव दिएका थियौं । हाम्रो सुझावलाई मौद्रिक नीतिले समेटेको छ,’ उनले भने, ‘आफूहरुले उठाइरहेको पुनर्तालिका, पुर्नकर्जा, पुँजीकरणलगायतका धेरै कुरा सम्बोधन भएको र यसले व्यवसायी राहत अनुभव गरेको छ ।’
पोखरा पर्यटन परिषद्का महासचिव दिलप्रसाद गौतमले पर्यटन, कृषि र आयात क्षेत्रमा गरिएको व्यवस्थाले निजी क्षेत्र उत्साहित भएको बताउँदै निकै पीडामा रहेका पर्यटन व्यवसायीलाई यसले मल्हमको काम गरेका प्रतिक्रिया दिए ।
पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाइने व्यवस्थाले यस क्षेत्रका व्यवसायीलाई राहत भएको उनको भनाइ छ ।
होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले यतिबेला ऋण तिर्न नसक्ने उद्योगी तथा व्यवसायीलाई राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शतप्रतिशत माग सम्बोधन भएको बताए । उनले भने, ‘यसले कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरणको व्यवस्था गरेको छ यो निकै सकारात्मक हो ।’
मौद्रिक नीतिमा २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालिन प्रकृतिका चालु पुँजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख छ ।