काठमाडौं– कोरोना कहरले थलिएको सांगीतिक बजार देशमा लकडाउन अलि खुकुलो भएसँगै केहि चलयमान भएको छ । सांगीतिक क्षेत्र चलायमान हुँदै गर्दा यतिबेला बजारमा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । यहि वर्ष गायक तथा मोडल दुर्गेश थापाले पनि २ वटा तीजका गीत सार्वजनिक गरे ।
उनले सार्वजनिक गरेको पछिल्लो गीत हो ‘बिच्च बिच्चमा–३ ।’ गीतमा उनी महिलाको भेषमा प्रस्तुत भएका छन् । साडी लाएर गीतार बोकी गीत गाउन निस्किएका दुर्गेशको अहिले आलोचना भैरहेको छ ।
हुन त दुर्गेश थापा गीतका कारण बेला बेलामा बिवादमा तानिने कलाकार हुन् । यहि वर्ष पनि ‘बिच्च बिच्चमा–२’ निकाल्दा चोरीका कारण बिवादमा आएका थिए । गत वर्ष तिहारको गीत निकाल्दा उनी केहि दिन प्रहरी खोरमै बसेर फर्किएका थिए ।
‘बिच्च बिच्चमा–३’ मा सामाजिक बिषयबस्तुलाई समेटेपनि गीतले तीजको मर्म र महत्वलाई बलात्कार गरेको धेरैले गुनासो गरेका छन् । कसैको मर्यादामा पर्ने असर र सामाजिक मूल्य मान्यताको दायरा नाघी गीत निकाल्ने नाउँमा चाडपर्वको मर्म मार्न नहुने धारणा संगीतकार सुरेश अधिकारीको छ । अधिकारी भन्छन्– ‘यस्ता खालका गीत र प्रस्तुती हाम्रो समाजमा रत्यौंलीमा प्रस्तुत गरिन्थ्यो ।’
सार्वजनिक गीत बसन्त थापाले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।