काठमाडौं– आज र भोलि बाढी पहिरोको उच्च जोखिम रहेको मौसमविदहरुले जनाएका छन् । अबका दुईदिन मुलुकभर भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन उनीहरुको सुझाव छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरको भनाई छ ।
वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन मौसम विभागले आग्रह गरेको हो ।
नेपालमा मनसुन सुरु भए यता एक महिनाको अवधिमा बाढी र पहिरोबाट एक सय १ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता बाढी र पहिरोबाट सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी एक सय एक जनाको मृत्यु भएको जनाएको हो ।
प्राधिकरणका अनुसार हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन् ।