काठमाडौं - आज साउनको ५ गते अर्थात साउनको पहिलो सोमबार । साउन र सोमबारलाई भगवान शिवको प्रिय महिना र प्रिय बार मानिन्छ । यो महिना र दिनमा शिवको आरधना गर्नाले मानव जगतका लागि निकै फलदायी र कल्याणकारी रहने शास्त्रीय मान्यता छ ।
हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुले यो महिनै भरिका सोमबार विशेष ब्रत बस्ने गर्छन् । आजको दिनमा स्नानको लागि तिर्थालुहरु विभिन्न तिर्थस्टलमा टाढासम्म भक्तजनहरु धाउने गर्दछन ।
सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।
यस दिनमा उनीहरुले शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गर्ने गर्दछन् । संयोगले औंसी पनि सोमबार नै परेको छ । वर्षभरि २ पटकसम्म मात्र सोमबारे औंशी पर्दछ ।
यो दिनमा दान दिनका लागि शुभ मानिन्छ । हरेक महिनामा एउटा मात्र औंशी पर्ने भएकाले यो वर्षको सोमबारले अझ बढी अर्थ राख्ने विश्वास गरिन्छ । सोमवार र औंशीको यस्तो संयोग बेलाबेला मात्र हुने हुनाले पनि यो वर्षको साउन र सोमबारलाई विशेष महत्वका साथ लिइएको छ ।
सोमबार चन्द्रमाको दिन पनि हो भनिन्छ । चन्द्रमा मनको प्रतिक मानिने भएकाले आजको दिनमा ब्रत बस्नाले मन शान्त हुने र लक्ष्य प्राप्तीका लागि सहायता मिल्नेछ ।
आजको दिन स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने हिन्दु शास्त्रमा बताइएको छ ।
सधैं जसो आजको दिन देशको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइचो लाग्ने गथ्र्यो तर यो वर्ष कोरोनाको महामारीको कारण घरमै वा नजिकैको शिवालयमा पूजा आराधना गरिदैछ ।