काठमाडौं– कोरोना महामारी नभएको भए अहिले फिल्म ‘चिसो वर्ष (अ इयर अफ कोल्ड)’ को सुटिङ भइरहेको हुन्थ्यो । वैशाखमै सुटिङमा जानेगरी बनाइएको योजना कोराना प्रकोपसँगै रोकियो । तर यही महामारीका बीच पनि फिल्म ‘चिसो वर्ष’को स्क्रिप्टले अवार्ड पाउन भने रोकिएको छैन ।
‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको अर्को फिल्म ‘चिसो वर्ष’को स्क्रिप्टले टर्कीमा ‘ १२ पुन्टो– टिआरटी स्क्रिनप्ले डेज’बाट ७५ हजार युरो पुरस्कार जितेको छ । नेपाली रुपैयाँ करिब एक करोड तीन लाख बराबरको यो पुरस्कार अन्तर्राष्ट्रिय सह निर्माणका लागि आर्थिक अनुदान स्वरुप प्रदान गरिएको हो ।
अवस्था सामान्य भएपछि सुटिङमा जाने योजना बुन्दै गरेका लेखक तथा निर्देशक मीनले यस खुशीको खबर सुनाउँदै आफू ‘चिसो वर्ष’प्रति अझै उत्साहित भएको बताएका छन् । उनी सुनाउँछन्, ‘यो इन्टरनेशनल सह निर्माणको लागि अनुदान हो, अब टर्की र नेपालको संयुक्त निर्माणमा सिनेमा बन्दैछ ।’
यसअघि पनि स्क्रिप्टबाटै विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाएको ‘चिसो वर्ष’ निर्माण अघिनै चर्चामा छ । मीनको यस यस स्क्रिप्टले कान्स फेस्टिभल २०१८ को ‘सिने फन्डेसन रेसिडेन्स’, बर्लिन फेस्टिभल २०१८ को ‘निकोभ रेसिडेन्सी’, लोकार्नो ओपन डोर्स २०१८ को ‘आर्टी प्राइज’, बुसान फेस्टिभल २०१७ को ‘एसियन सिनेमा फन्ड’ तथा ‘नर्वेजियन सोरफन्ड पिचिङ फोरम’ लगायतका पुरस्कार र प्रोत्साहन पाइसकेको छ ।
हिमाली गाउँको कथा बुनेको ‘चिसो वर्ष’ले नेपालको डोल्पा, मनाङ लगायतका हिमाली स्थानमा प्रचलित बहुपति प्रथालाई उतारेको छ । लेखक मीनले पेमा र लामा पात्रमार्फत उनीहरुको विकसित सम्बन्ध र हिमाली संस्कृति र परम्परलाई दृश्य भाषामा प्रस्तुत गरेका छन् ।
दोस्रोपटक आयोजना भएको ‘टिआरटी पुन्टो १२ स्क्रिनप्ले डेज’को कार्यक्रम जुलाई १२ देखि १८ सम्म भएको थियो । कोरोना महामारीका कारण अनलाइन मार्फत आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रशिक्षण, बहस–विमर्श पनि भएका थिए । स्क्रिनप्ले स्क्रिनप्लेमा जसमा विभिन्न १० देशका फिल्मकर्मीहरु सहभागीहरु थिए ।
यस संस्करणमा अन्तर्राष्ट्रिय सह निर्माणतर्फ नेपालका मीन बहादुर भामको ‘चिसो वर्ष’का साथै स्पेनका माएमा गार्सियाको ‘होली स्प्रिरिट’ र मारियाना गोर्वाचको ‘क्लोनडाइक’लाई पनि पुरस्कृत गरिएको छ ।