काठमाडौं– सोमबार खुमलटारमा भएको पूर्वमाओवादीको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
पूर्वमाओवादीका नेताहरुको भेलाले ओलीले आफ्नो संकट टार्न विभिन्न बहाना गर्न थालेकाले एक पदबाट राजीनामा दिलाउनु नै अहिलेको समस्या समाधान हुने निष्कर्ष निकालेको एक स्थायी कमिटी सदस्यले बताए ।
पार्टी विधि र पद्धतिभन्दा पनि आफूअनुकूल चलाउने प्रवृत्तिले विवाद बढेको छ तर यसलाई भत्काएर पार्टी एकता र विधिको पक्षमा अडिग भएर लाग्न प्रचण्डले आफू निकटका नेताहरुलाई आग्रह गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए ।
उनले भने, ‘आजको छलफलमा पार्टी व्यवस्थित रूपमा नचलेकाले यसलाई विधि र पद्धतिमा चलाउनुपर्ने निष्कर्ष निस्किएको छ । अहिलेको अवस्थामा अर्ली महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छौं ।’
नेकपाको एकता नै पूर्ण नभएको अवस्थामा अर्ली महाधिवेशनको फन्डा ओलीले आफूमाथि आएको संकट टार्न ल्याएको नेकपाभित्र नै आरोप लागेको छ ।
‘अर्ली महाधिवेशनको विषयले सबै जना झस्केका छन् । अहिलेसम्म पार्टी कमिटीका अधिवेशन भएका छैनन् । सदस्यता नवीकरण हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन,’ उनले भने ‘अर्ली महाधिवेशन हुन सम्भव छैन । सदस्यता नवीकरण भएको छैन । कमिटीको सम्मेलन भएको छैन । अनि कसरी अर्ली महाधिवेशन हुन्छ ?’
एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीमा चेन अफ कमान्डको समस्या छ । यस्तो समयमा अर्ली महाधिवेशन गर्ने कुरा हावादारी हो ।’