काठमाडौं– पछिल्ला केही दिनयता नेपालमा पिसिआर नमुना परीक्षणको दर घटेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमण दर कम भएकाले पिसिआर नमुना परीक्षण कम भएको बताएका छन् ।
गौतमका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा तीन हजार जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा तिन जनाको रिपोर्ट पोजिटिभ आएको छ । गौतमले भने, ‘संक्रमण दर कम भएकाले पिसिआर टेस्ट कम भएको हो । जोखिम कम भएको छैन ।’
विदेशबाट नेपाल आउनेको संख्या धेरै घटेको र क्वारेन्टिनमा बस्ने संक्रमितसमेत डिस्चार्ज भएर घर फर्किसकेका छन् । ‘१० हजार जनाको परीक्षण गर्ने क्षमता छ । आवश्यकता परेमा १० हजारभन्दा बढीको पिसिआर नमुना परीक्षण गर्न सक्षम छौँ,’ गौतमले भने ।
आज १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।