काठमाडौं । स्ट्यान्ड–अप कमेडी च्याम्पियनको दोस्रो सिजनको टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा सहभागीलाई अडिसनका लागि तयार रहन भनिएको छ । च्याम्पियनका निर्माता बिशाल भण्डारी तयार रहन सहभागीलाई मात्रै नभएर दर्शकलाई पनि भनिएको बताउँछन् । दर्शक तथा सहभागीलाई तयार हुन भनिए पनि अडिसन कहिलेबाट र कसरी सुरु हुन्छ भन्ने कुरा टिजरमा उल्लेख गरिएको छैन् ।
असोजबाट कमेडी च्याम्पियनका शोहरु अन गर्ने तयारीका साथ काम गरिरहे पनि कहिलेबाट र कसरी सुरु गर्ने भन्ने अझै टुङ्गो लगाइनसकेको भण्डारी बताउँछन् । बुधबार साँझ प्रोमो सार्वजनिक गर्ने तयारीमा रहेको पनि भण्डारी बताएका छन् ।
कमेडी च्याम्पियनको दोस्रो सिजनमा चुनौती र प्रेसर दुबै रहेको भण्डारीले बताए । उनी भन्छन्–‘कमेडी च्याम्पियन पनि हुन्छ छ र ? भन्ने अवस्थामा हामीले कार्यक्रम सुरु गरेका हौँ । दर्शकको विश्वासले गर्दा हाम्रो शो नम्बर वान शो भयो । च्याम्पियनको दोस्रो सिजनालाई पनि नम्बर वान नै बनाईरहनका निम्ती निक्कै चुनौती छ । त्यहि चुनौतीलाई आत्मसाथ गरेर तयारीमा लागेका छौं ।’
कमेडी च्याम्पियनको पहिलो सिजनमा पुरा गर्न नपाएका केहि सपना दोस्रो सिजनमा पूरा गर्ने भण्डारीले बताए । पहिलो सिजनको झल्को नै नदिने गरी भब्य सेटको तयारी गरिहेका छौं, भण्डारीले भने । भण्डारी भन्छन्– ‘यो सिजनमा कन्टेन राइटिङमा पनि अघिल्लो सिजनमा भन्दा चार गुणा बेसी मेनपावर राख्ने छौं । पहिलो सिजनमा ६ जनाले गरेको काम यो सिजना २१ जनाले गर्ने छन् । हामी मेहनत गर्ने छौँ । इमान्दारिताका साथ १ घण्टा दर्शकलाई हसाउने छौँ ।’
कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्तले शिर्ष उपाधि जितेका थिए । दोस्रो सिजनमा पनि पहिलो सिजनकै निर्णायक तथा होस्ट सोही भूमिकामा रहने छन् ।