काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
कोरोना संक्रमण जोखिमका कारण ठूला कार्यक्रम भने तय भएका छैनन् । पछिल्लो समयमा पुष्पलाल स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गरेकाे प्रतिष्ठानका महासचिव गंगालाल तुलाधरले बताए ।
कम्युनिस्ट पार्टी स्थापना
पुष्पलालले वि. सं. २००६ सालमा भारतको कोलकाताको श्याम बजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । पार्टी स्थापनामा उनीलगायत नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संलग्न थिए । पार्टीमार्फत जनपक्षीय काम गर्ने र समाजवादमा पुग्ने लक्ष्य राखेर पार्टी स्थापना गरिएको थियो ।
उनी जनताको पक्षमा राजनीति गर्थे । उनले स्वतन्त्रताका लागि जीवनभर संघर्ष गरे । पुष्पलालद्वारा स्थापित नेपाल कम्युनिस्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएको छ ।
घोषणापत्र
पुष्पलालले विश्व कम्युनिस्ट घोषणा पत्र २००५ सालमा नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गरेका थिए । उनले कम्युनिस्ट आन्दोलनमार्फत देशलाई समृद्ध बनाउने कार्यक्रम ल्याएका थिए । उनी राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जीवनभर संघर्षमा लागे ।
उनी क्रान्तिका लागि सामन्ती एकतन्त्रीय शासनको अन्त्य र वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने बताउँथे । उनले नेपाली क्रान्तिको घोषणा पत्रमा लेखेका छन् ‘संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता, मजदुर किसान, श्रमजीवी जनताको हित सर्वोपरि हो । सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिको सरकार बनाउने । क्रान्तिकारी भूमिसुधार लागु गर्ने ।’
परिवार
पुष्पलालको जन्म वि.सं. १९८१ मा सिन्धुलीको भंगेरीमा भएको थियो । उनी बुबा भक्तलाल श्रेष्ठ र आमा तुलसीमाया श्रेष्ठका माइला सन्तान हुन् । उनका दाइ गंगालाल श्रेष्ठले जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउँदा फासीको सजाय पाएका थिए । पुष्पलालको २०३५ साल ७ साउनमा भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
राजनीतिमा बौद्धिक र व्यावहारिक नेताका रूपमा चिनिएका पुष्पलालको छवि सधैं अनुकरणीय छ । उनलाई कम्युनिस्ट आन्दोलनमा नेपाली क्रान्तिका सिद्धान्तकारका मानिन्छ ।