काठमाडौं– नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ लागु गरेर पुनर्कर्जाको सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन भागमा वर्गीकरण गरेर यसको सीमा निर्धारण गरेको हो ।
प्रतिग्राहक १५ लाखको लघु, घरेलु तथा साना उद्यम, १० करोडसम्म विशेष र साधारण पुनर्कर्जा एकमुष्ट प्रदान गरिने बताइएको छ । पुनर्कर्जाको अधिकतम सीमा २० करोड र अवधि एक वर्ष तोकिएको छ । एकमुष्ट प्रदान गरिने पुनर्कर्जाको अधिकतम अवधि एक वर्ष हुने र यो नवीकरण नहुने राष्ट्र बैंकले जनाएको छ ।
पुनर्कर्जाको ब्याजदर
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज लिन पाउनेछ भने इजाजतप्राप्त संस्थाले ग्राहकबाट ५ प्रतिशत ब्याज लिन पाउनेछन् । त्यस्तै, विशेषमा राष्ट्र बैंकले १ र इजाजतप्राप्त संस्थाले ३ तथा साधारण पुनर्कर्जामा नेपाल राष्ट्र बैंकले ३ र इजाजतप्राप्त संस्थाले ५ प्रतिशत ब्याज लिन पाउनेछन् ।
पुनर्कर्जाको वर्गीकरण
‘उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ,’ कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, बैंकले समय समयमा कुनै क्षेत्र विशष्ोलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनरकर्जा भनिनेछ । ‘यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिनेछ,’ कार्यविधिमा लेखिएको छ ।
माथिका वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुनर्कर्जा मानिएको छ ।