काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले विज्ञप्ति निकालेर पुष्पलाललाई सम्झिएका छन् ।
समृद्ध र सुखी नेपाली अभियानमा छौं : प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको सरकार देशलाई समृद्ध र सुखी नेपाली बनाउने अभियानमा लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पुष्पलालको ४२औैं स्मृति दिवसमा विज्ञप्ति निकाल्दै भनेका छन्, ‘देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ । समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेका छौं । नसकेका र नगरिएका तमाम कामहरु गर्दै छौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् ।’
ओलीले पुष्पलाललाई कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता र वाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता भनेका छन् ।
ओलीका अनुसार पुष्पलालले सामन्तवाद अन्त्य र गणतन्त्र स्थापनालाई राजनीतिक उद्देश्य बनाएका थिए । उनले पार्टीमा सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलन अघि बढाएको ओलीले बताएका छन् ।
समाजवादको लक्ष्यमा अगाडि बढ्नुपर्छ : खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालको स्मृतिमा विज्ञप्ति जारी गर्दै पार्टीलाई एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।
उनले भनेका छन्, ‘पुष्पलालको मार्गदर्शनबाट अगाडि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको हो ।’
उनले नेपाली कम्युनिस्ट आन्दोलनका जन्मदाता पुष्पलालको मार्गदर्शनमा अघि बढेर संविधान निर्माणदेखि पार्टी एकता गरेर अघि बढिरहेको बताएका छन् ।
व्यक्तिवादी प्रवृत्तिविरुद्ध उभिनुपर्छ : नेपाल
त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भनेका छन्, ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दै भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो पनि विभाजनले थिलोथिलो बनाएको थियो । आज पनि त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्छन् भने त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै नेता कार्यकर्ताको कर्तव्य हुन्छ ।’