काठमाडौं । विश्व कोरोना कहरको चपेटामा पर्यो । नेपाल लगायत विश्वका विभिन्न देशमा ६ लाख भन्दा बढी मानिसले ज्यान गुमाए । देश तथा विदेशमा धेरै नेपालीले रोजगारी गुमाए । चाहेर पनि उनीहरुले आफ्नो घर जान पाएनन् । बिरामी पर्दा आफन्तको साथ पाएनन् । गायक अमृत क्षेत्रीका आँखाभरी यिनै दृष्य नाचिरहे । उनको मन बेचैन भयो । त्यसपछि उनले लेखे, ‘मलेवा भए उडेर आउथें नौँ डाँडै काटेर । जलेवा भए आउथें प्यारु समुद्रै तरेर ।’
गीत लेख्दै गर्दा अमृतलाई लाग्यो यो गीत सिजनेवल गीत बन्नु हुँदैन । उनले गीतलाई सदाबहार शैलीको बनाउने सोच बनाए । त्यहीअनुसार तयारी गरे । गीतमा संगीत गरें । रेकर्ड गरे । गायनमा गायक क्षेत्रीलाई गायिका मेलिना राईले साथ दिइन् । गीतको अडियो तयार भयो ।
अमृतलाई भिडियो पनि हरेक समय हेर्दा त्यही बेलालाई सम्बोधन गर्ने बनाउन मन थियो । उनको यो मनलाई म्यूजिक भिडियो निर्देशक निकेश खड्काले । खड्काले कलाकार दयाहाङ राई र केनिपा सिंहलाई लिएर फरक शैलीमा म्यूजिक भिडियो निर्देशन गरे । म्यूजिक भिडियोमा दया र केनिपा निक्कै खुलेका छन् ।
सोही गीतको म्यूजिक भिडियो गायक क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन् । आफ्नो प्रेमी पर्खिएर बसेको युवा पुस्तालाई लक्षित गरिएको यो गीतले तत्कालिन समयलाई पनि सम्बोधन गरेको छ । चाहेर पनि घर आउन नपाएका तथा भेट्न नपाएका धेरैले यो गीतलाई आफ्नो गीत भनेका छन् । गीतले यो समय मात्रै होइन, सामान्य अवस्थामा पनि परदेशमा रहेका नेपालीले भोग्ने मानसिक पीडालाई सम्बोधन गरेको छ ।