काठमाडौं– सुन्दरीजल–रत्नपार्क चल्ने बा३ख ६२३ नम्बरको सार्वजनिक यातायात यात्रुले भरिभराउ थियो । सिट भरिएकाले केही यात्रुहरु जोरपाटीसम्म उभिएर आए । यात्रुले नै जबर्जस्ती यात्रा गर्न खोजेपछि सिट क्षमताभन्दा बढी यात्रु चढाइएको बसका परिचालकले बताए । उपत्यकाका काँठ क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम लागू् नभएको पाइएको छ ।
अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा सवारीलाई तत्कालै नियन्त्रणमा राख्ने आदेश दिइएको महानगरीय ट्राफिक महाशाखा महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले गरेको अनुगमनका क्रममा मंगलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २ सय ७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले बताए । नियन्त्रणमा लिइएका सवारीलाई बेलुकी ८ बजे छोड्ने गरेको महाशाखाले जनाएको छ ।
महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतमले जनशक्ति अभावमा काँठ क्षेत्रमा अनुगमन नभएको बताए । ‘टोखामा पाँच, बूढानीलकण्ठमा चार जना मात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य सहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दुरी अनुगमन केही टोली मोटरसाइकलमा खटाइएको छ,’ उनले भने ।